"घनेन्द्र ओझाको गजलकारिता” र "दुल्हा राजा आउनुभो" विमोचित हिजो बुधबार काठमाडौँमा आयोजित एक कार्यक्रममा युवासमालोचक सङ्गीता पाठकद्वारा लिखित शोध अनुसन्धानात्मक पुस्तक "घनेन्द्र ओझाको गजलकारिता" तथा घनेन्द्र ओझाको बालगजलकृति "दुल्हा राजा आउनुभो" को बिमोचन तथा अन्तर्कृया सम्पन्न भएको छ । अनाममण्डलीको आयोजनामा भएको कार्यक्रममा प्रमुख अतिथि गीतकार, समालोचक डा. कृष्णहरि बराल, अतिथिहरू सामुदायिक रेडियो सहयोग केन्द्रका संयोजक रघु मैनाली, सर्जका पिता बद्रीप्रसाद ओझा, कन्दरा पब्लिकेशनका कार्यकारी निर्देशक राधा कणेललगायतले पुस्तकको बिमोचन गर्नुभएको थियो ।
विमोचित पुस्तक घनेन्द्र ओझाको गजलकारितामाथि समीक्षक बालाकृष्ण अधिकारीले समीक्षात्मक टिप्पणी गर्नुभएको थियो । यसैगरी दुल्हा राजा आउनुभोमाथि समीक्षक सरोज घिमिरेले टिप्पणी गर्नुभएको थियो । समीक्षक अधिकारीले समालोचक सङ्गीता पाठकको समालोचनालेखन निकै स्तरीय रहेको र उक्त पुस्तक अनुसन्धानात्मक रहेको बताउनुभयो । "घनेन्द्र ओझाको जीवनी, व्यक्तित्व र कृतित्वको समग्र अध्ययन गरिएको पुस्तक हो यो", अधिकारीले भन्नुभयो, "यसमा गजलको सिद्धान्त पक्ष पनि उल्लेख गरिएकाले यो पुस्तक सबैका लागि उपयोगी हुन सक्छ ।" बाल गजलकृतिको समीक्षा गर्दै समीक्षक घिमिरेले घनेन्द्र ओझाको उक्त कृति संरचनात्मक, प्राविधिक हिसाबले उत्कृष्ट भए पनि केही गजलका भाव बालबालिकाउपयोगी हुन नसकेको बताउनुभयो । रेडियोकर्मी रघु मैनालीले नेपाली भाषाको मानक हुन नसकेकाले साहित्य सर्जकलगायत सबैलाई अप्ठेरो परेको बताउनुभयो । प्रमुख अतिथि डा. कृष्णहरि बरालले निकै शोधखोज गरेर तयार पारिएकाले सङ्गीता पाठकको समालोचनाकृति ओजिलो बनेको उल्लेख गर्नुभयो ।
समकालीनले समकालीनका बारेमा यसरी नै शोध, समालोचना गर्नु राम्रो कामको सुरुवात भएको पनि उहाँले बताउनुभयो । कार्यक्रममा सर्जकका पिता बद्रीप्रसाद ओझाले घनेन्द्र ओझाको विगतका बारेमा उल्लेख गर्नुभएको थियो । कार्यक्रम अनाममण्डलीका अध्यक्ष बलराम दाहालको सभापतित्व तथा जय गौडेलको संचालनमा सम्पन्न भएको थियो ।
0 comments:
Post a Comment